घरले भरिएको शहरमा पर्यावरणीय दृष्टिले उत्तम मानिएको कौसी बगैंचाले काठमाडौंवासीलाई मौसमी तरकारी र फलफूलमा आत्मनिर्भर बनाउँछ।
बिहीबार , २२ जेठ २०७१ ४:२४ पम
-सन्त गाहा मगर
काठमाडौं, रातोपुलका दिलीप श्रेष्ठ (६१) आफूकहाँ आउने पाहुनालाई मौसम अनुसारको तरकारी र फलफूल कोसेली दिएर पठाउँछन्। जैविक तरकारीमा आत्मनिर्भर हुने उद्देश्यले चार वर्षअघि उनले शुरू गरेको कौसी बगैंचामा पूर्णतः अर्ग्यानिक (प्राङ्गारिक) फलफूल र तरकारी फल्छन्। श्रेष्ठले पुगनपुग दुई सय वर्गफिटको छतमा फूलसँगै विभिन्न थरीका काँक्रो, सिमी, बोडी, गोलभेंडा, भिन्डी, पुदिना, खुर्सानी, वैगुन, फर्सी, लौका, लसुन, अम्बा, धनियाँ, अदुवा र लट्टेसागदेखि कर्कलोसम्म अटाएका छन्।
खाद्य संस्थानको जागीरबाट सेवा–निवृत्त श्रेष्ठलाई देश–विदेशबाट आउने पाहुनाहरूले नयाँ–नयाँ बीउ–विजन र बिरुवा ल्याइदिन्छन्। गएको दशैंमा आएका केही पाहुनाले कम्पोष्ट मलको पोको ल्याइदिएको उनले सुनाए। फूलमा समेत कम्पोष्ट मल लगाउने श्रेष्ठले बिरुवालाई वेलावेलामा पिना र हड्डीको धूलो दिन्छन्। श्रेष्ठले घर बनाउँदा नै कौसी बगैंचालाई सजिलो हुने गरी छत बनाए।
पुर्ख्यौली घर संखुवासभा भएका श्रेष्ठ काठमाडौंमा कौसी बगैंचा संस्कृति अँगाल्ने एक प्रतिनिधि हुन्। राजधानीमा उनी जस्ता धेरैले घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न थालेका छन्। काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठका अनुसार, महानगरपालिकाबाट तालिम नै लिएर शहरमा यस्तो खेती गर्ने घरधुरी ५०० भन्दा बढी छ।
कौसी बगैंचा बनाउन चाहनेले ३५ जनाको समूह बनाएपछि महानगरपालिकाले निःशुल्क तालिम र प्राविधिक सहयोग दिन्छ। बगैंचा खेतीलाई प्रोत्साहन गर्न सरकारले नर्सरीबाट उत्पादन हुने बिरुवामा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको छ। शहरी विकास मन्त्रालय र महानगरपालिकाले निश्चित उद्देश्यका लागि कौसी बगैंचा बनाउन प्रोत्साहन गरिरहेको छ। कौसी खेती मार्फत घरको फोहोर घरमै व्यवस्थापन गर्नु यसको पहिलो उद्देश्य हो।
कौसीको कमाल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा कौसी खेतीमा लगानीको तुलनामा निकै धेरै फाइदा हुने भएकोले यसको व्यावसायीकरणमा जानुपर्ने बताउँछन्। कौसी खेतीबाट आफूले मिहिनेतले उत्पादन गरेको फलफूल र तरकारी सित्तैंमा नबाँडी बेचेर यसको सुरुआत गर्न सकिने सचिव बाँस्कोटाको भनाइ छ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्री रहिसकेका गणेश साह कौसी खेतीबाट खाद्य सुरक्षामा पनि टेवा पुग्ने बताउँछन्। फूल मात्रै लगाउनेहरूलाई त्यसमा फलफूल र तरकारी पनि जोड्न साहको सल्लाह छ। उनी राष्ट्रपति, प्रधानमन्त्री कार्यालय र राजनीतिकर्मीहरूको घरमा पनि कौसी खेती गर्नुपर्ने बताउँछन्। साह भन्छन्, “शहरमा बसेर आत्मनिर्भरताको कुरा गर्ने कम्युनिष्टहरूका लागि त झ्न् यो स्वावलम्बी बनेर देखाउने राम्रो विकल्प हो।”
काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग प्रमुख श्रेष्ठ घरमा फोहोरको रूपमा बाहिर फाल्नुपर्ने वस्तुहरूलाई कौसी बगैंचामा सजिलै प्रयोग गर्न सकिने, शहरीकरणका कारण बढ्दो तापक्रम घटाउन थोरै भए पनि मद्दत पुग्ने र फुर्सदको सिर्जनात्मक उपयोग हुने बताउँछन्। “बन्द, हडताल र बाढी पहिरोले सडक थुनिंदा हरियो तरकारी र फलफूलको लागि छटपटाउने उपत्यकावासीलाई कौसी बगैंचाले यी कुरामा आत्मनिर्भर पनि बनाउँछ”, श्रेष्ठ भन्छन्।
बगैंचा खेतीमा लाग्नेहरू तन्दुरुस्त र तनावरहित देखिएको बताउने बगैंचा खेतीका प्रशिक्षक शेषनारायण महर्जनका अनुसार आकाशे र भान्सामा प्रयोग भएको पानीबाट कौसीमा हरित चमत्कार ल्याउन सकिन्छ। उनका अनुसार, भान्छा र बोटबिरुवाबाट निस्कने फोहोर उन्नत जातको गँड्यौलालाई खुवाएर मलको आवश्यकता पूरा गर्न सकिन्छ। कौसी बगैंचाको लागि धेरै खर्च पनि गर्नुपर्दैन। तर, खेती शुरू गर्नु भन्दा पहिला आधारभूत तालिम लिए सुनमा सुगन्ध हुने महर्जन बताउँछन्।
कृषि अनुसन्धानकर्ता जीवनप्रसाद राई कौसीमा चक्रीय बाली लगाउन सल्लाह दिन्छन्। उनका अनुसार, खुर्सानी लगाएको गमलामा अर्को पटक अर्थोकै लगाउँदा राम्रो हुन्छ। शहरका कौसी बगैंचामा केराउ, बोडी, भटमास, सिमी जस्ता कोसे बालीबाट अधिकतम लाभ लिन सकिने राई बताउँछन्। उता, वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठ बगैंचा खेतीलाई फेशनभन्दा पनि गम्भीर रूपमा लिनुपर्ने बताउँछन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
FROM. http://www.himalkhabar.com/?p=70343#
MY VIDEO BLOG FROM YOUTUBE Nepal pache Baja 2013
No comments:
Post a Comment