नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११औँ स्थानमा छ। यसकारण यहाँ भूकम्पका कारण हुन सक्ने जन धनको क्षति कम गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ।
देशभरि एकै साथ राष्ट्रिय अभियानकै रूपमा आयोजना गरिने भूकम्प सुरक्षा दिवस मनाउन थालिएको पनि १६ वर्ष पुरा भइसकेको छ। विगतका १६ वर्षहरूमा नेपाली समुदायको भूकम्पीय जोखिम न्यूनीकरणमा कति उपलब्धि हासिल गरियो त भनेर समीक्षा गर्ने समय आएको छ।
कमसे कम नेपालका केही ठूला सहरहरूमा भवन निर्माण संहिता (भूकम्प थेग्ने घर बनाउने तरिका) लागू भएका छन्। आक्कल झुक्कल भूकम्पीय जोखिम न्यूनीकरणका विषयमा छलफल हुने गरेका छन्।
काठमाडौं उपत्यकाका बासिन्दाहरू काठमाडौंको भूकम्पीय जोखिम अत्याधिक भएको महसुस गर्न थालेका छन्। 'काठमाडौंमा भुईंचालो आए के होला?' 'साना तिना भुईंचालो मा त केही हुँदैन तर काठमाडौं उपत्यका आसपास मझौला वा ठूलो भूकम्प हुने हो भने तहसनहस हुन्छ, कुनै पनि घर सद्दे रहँदैन।'
विगत केही वर्षदेखि काठमाडौं का सर्वसाधारणबीच यस्तो कुराकानी सुनिन थालेको छ। यस्तो कुराकानी खास गरी माघ २ गते भूकम्प सुरक्षा दिवसको आसपासमा बढी सुनिने गर्छ।
नेपाली आम संचार जगतमा पनि भूकम्प सुरक्षा दिवसका दिन माघ २ गते अघि र पछिका केही दिनहरूमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारी सम्बन्धी सामग्रीहरू प्रकाशन तथा प्रसारणमा उल्लेख्य वृद्धि हुने गर्छ।
साँच्चै तपाइले पनि भुईंचालो आइहाले के गर्ने भनेर सोच्नुभएको वा योजना बनाउनु भएको छ ? एकै छिनलाई सोच्नुहोस् त, तपाईँ आफ्ना परिवारसँग घर भित्र बसिरहेको समयमा ठूलो भुईंचालो आयो।
तपाइका परिवारका सबै सदस्यहरू सकुशल घरबाट सुरक्षित स्थानमा पुग्नुभयो। तर घर भने बस्न नसक्ने गरी क्षति भयो।
यस्तो अवस्थामा तपाइको मन र शरीरले के माग्छ होला ? पानी, हो जस्तोसुकै आपत्कालिन वा हतास्सीएको अवस्थामा मुख सुक्छ र पानी पिउने मन हुन्छ।
भुईंचालो जुनसुकै समयमा आउन सक्ने भएकोले यो भैँचालो राति आएको भए तपाईलाई उज्यालो पार्न टर्चलाइटको आवश्यकता पर्छ। भूकम्प फेरि सुक्खा मौसममा मात्र आउँछ भन्ने छैन। वर्षातको समय भए तपाईका परिवारको सदस्यहरूलाई भई को चिसो र वर्षाबाट जोगाउन कम्तीमा दुईवटा प्लास्टिकको शिटहरु र डोरी आवश्यक हुन्छ।
यसरी तपाईले आफ्नो परिवारलाई घाम पानी बाट सुरक्षित पार्न सक्नुभयो भने आपत्कालिन अवस्थाको जीवन पनि सहज हुन्छ होइन त ? आफ्ना परिवारका सदस्यहरूले नियमित प्रयोग गर्ने गरेको औषधि, पानी शुद्धीकरणका लागि औषधि, बालबालिकाको लागि लिटो, धूलो दूध, महिलाहरूको लागि स्यानिटरी प्याड, भुटेको गेडा गुडी, चिउरा, नुन, चिनी, सातु जस्ता नपकाईकन खान मिल्ने आडिलो खाने कुरा भए जीवन कति सहज हुन्छ होला।
त्यसैगरी साबुन, दन्त मन्जन, बुरुस रुमाल जस्ता सरसफाइका सर्दाम, प्राथमिक उपचारका सरसामान तथा आवश्यक औषधि आदी पनि चाहिन्छ। उद्धार कार्य तथा राहत वितरण सम्बन्धी आधिकारिक खबर वा सूचना सुन्नको लागि ब्याट्रीबाट चल्ने रेडियो, रेडियो तथा टर्चको लागि जगेडा ब्याट्री, टर्चको जगेडा बल्ब अदि पनि उत्तिकै आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुई मत हुँदैन।
प्रश्न के हो माथिको सुचीमा भएका पानीदेखि टर्चको जगेडा बल्ब सम्मका सामग्रीहरू हामीलाई भूकम्पको लगत्तै पछि कसले देला ? आफ्नो घर भित्र यी सबै चीजबीज भए ता पनि क्षतिग्रस्त घरमा कुन चीज कहाँ छ खोज्ने समय लग्छ फेरि यस्तो समयमा घर भित्र जाने पनि कुरै भएन। पसलमा किन्न पाईएला?
विनाशकारी भुईंचालोले तपाइको घर मात्रै भत्काउने त होइन छर छिमेक नजिकको पसल वा बजार पनि त क्षतिग्रशत भएका हुन्छन्। अव त्यस्ता सर सामग्रीहरू कसरी उपलब्ध होला त ? एक क्षण सोचौं त आफ्नो परिवारलाई केही दिन सम्म पुग्ने परिमाणमा माथि उल्लेखित सबै सामग्रीहरू एउटा पानीले नभिज्ने बलियो बोरा, थैलो वा झोला मा राख्न सकिन्छ की।
यसरी तयार पारेको थैलो वा झोला भूकम्प पछि घरबाहिर जाँदा आफूसँगै लिएर जान सकेको खण्डमा भुईंचालो पछिको जीवन सहज हुन्छ।
अर्को कुरा यस्तो आपत्कालिन अवस्थामा जीवन सरल पार्ने अति आवश्यक सामग्रीहरूले भरिएको महत्वपूर्ण झोला कहाँ र कसरी राख्ने होला ? जति महत्वपूर्ण भएपनि दराज भित्र ताल्चा लगाएर राख्ने बस्तु यो होईन।
भूकम्प पछि घर बाहिर जाँदा सजिलै बोकेर लान सकिने गरी आफ्नो डेरा वा घरको मूल ढोका भित्र यो झोला राख्नु पर्छ।
भुईंचालो पछि घर बाहिर जाँदा झटपट टपक्क टिपेर लान सकिने आपत्कालिन अवस्थामा पनि जीवन जोगाउने सरसामानहरूले भरिएको यस्तो झोलालाई 'झटपट झोला' भनिएको हो।
माथि उल्लिखित सामग्रीहरूको अलावा झटपट झोलामा आफ्नो बैङ्कको जगेडा चेकबुक, नागरिकता, जन्म, विवाह दर्ता प्रमाणपत्र, जग्गा धनी पुर्जा, राहदानी, आफ्नो घरको नक्सा जस्ता महत्वपूर्ण कागजातहरूको फोटोकपी लगायत केही नगद रुपियाँ पनि राख्नु पर्दछ। त्यसैगरी सियो धागो, कैँची, नेल कटर, रेजर, सानो चक्कु, पेच कस जस्ता सामान्य औजार पनिर राख्नु राम्रो हुन्छ।
काठमाडौं उपत्यकामा ठूला भूकम्प भयो भने सरकारी तवरबाट काठमाडौंका २०-३० लाख जनतालाई न्यूनतम आवश्यक राहत सामग्री वितरण गर्न केही दिन देखि हप्ता दिनसम्म लाग्न सक्छ।
त्यसैले प्रत्येक परिवारले एउटा का दरले झटपट झोला तयार पारी २- ४ दिनको लागि आत्मा निर्भर हुने सकेको खण्डमा भूकम्प पछिको जीवन सहज हुन जाने मात्र नभई चिसोले कठयाङ्ग्रिएर वा खान नपाएर मर्नेहरुको सङ्ख्यामा पनि भारी कटौती हुन जान्छ।
अझ यस्तो झटपट झोलामा एक जोर लुगा जुत्ता सानो कम्बल राख्दा अझ सुविधाजनक हुन्छ तर यसो गर्ने भने परिवारका प्रत्येक वयस्क सदस्यको लागि एउटा झटपट झोला तयार पार्नु पर्ने हुन्छ।
पारिवारिक वा व्यक्तिगत झटपट झोलामा राखिएका खाने कुरा र औषधिहरू प्रत्येक ६ महिनामा बदली रहनु पर्दछ।
यसको लागि झटपट झोलामा भएका खाने कुरा तथा औषधिहरू हरेक ६-६ महिनामा झिकेर प्रयोग गर्ने र झोलामा नया खाने कुरा तथा औषधिहरू राख्न बिर्सनु हुँदैन।
यसरी झटपट झोला अद्यावधिक गरी राख्ने परिवारहरूलाई ठूलो भूकम्प पछि राहत उद्धारका सरसामान नपाउन् जेलको जीवन यापन सरल र सहज हुन्छ।
लेखक भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक हुन्)
...........................................