कसले चलाउँछ पशुपति ?
पशुपति नै कसरी चलेको छ ?
पहिलो कुरो, पशुपतिको ढुकुटीमा के के छ भन्ने नै रहस्यमा छ । २००२ देखिमात्र भित्रिएका सामानको लगत राख्न थालिएकाले त्यसअघि ढुकुटीमा के के राखिए भन्ने कसैलाई थाहा छैन । पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यको अनुमानमा त्यहाँ बहुमूल्य रत्न, जवाहरात, मणिमाणिक्य छन् । त्यहाँको हीरा बेलायतमा जँचाइयो, अमूल्य ठहर भयो । त्यो एउटै जाँचेको आधार हो, पशुपतिको ढुकुटीबारे बखान हाल्ने । कोषका सदस्य सचिव गोविन्द टन्डनका अनुसार चन्द्रशमशेरले करिया मोचन गर्दा ढुकुटीको ३ लाख ६७ हजार रुपैयाँ चलाएका थिए ।
पशुपतिनाथका नाममा अथाह सम्पत्ति छ । ७ हजार रोपनीभन्दा बढी जग्गा छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको जग्गा त्यसमै पर्छ । नागरिक उड्डयन प्राधिकरण र पाँचतारे हयात होटलले पनि पशुपतिकै जग्गा भोगचलन गरेको छ । यति हुँदासमेत पशुपतिको
आयस्ता निम्छरै छ । सदस्य सचिव गोविन्द टन्डनका अनुसार पशुपतिले कुतबापत प्रतिरोपनी १ हजार ३ सय रुपैयाँ पाउँछ । 'जग्गामा ६६ प्रतिशत स्वामित्व पशुपति र ३३ प्रतिशत मोहीको हो,' उनी थप्छन्, 'तर पशुपतिले पाउने कर निकै कम छ ।'
नागरिक उड्डयन प्राधिकरणले गल्फ कोर्सलाई
३ सय ३५ रोपनी जग्गा भाडामा दिएको छ । उसले प्रतिरोपनी १ हजार ३ सय रुपैयाँको दरले ३ सय रोपनीको कुत कोषलाई बुझाउँछ । बाँकी ३५ रोपनीको ३५ वर्षदेखिको कुत अझैसम्म बुझाइएको छैन । तिलगंगा आँखा अस्पताल निर्माण गर्न पशुपतिले जग्गा दिएको हो । यसबाट उसलाई सुको आम्दानी हुन्न ।
मुनाफा सेयर गर्ने सहमति भए पनि अस्पतालले नाफामूलक संस्था होइन भन्ने जवाफ दिएको टन्डनले बताए ।
पूर्वकोषाध्यक्ष वैद्यका अनुसार चार किल्ला (चाबहिल, रातो पुल, कालोपुल, तिलगंगासम्म) को जग्गा तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले १८७० सालमा स्थानीयको सहमति लिएर पशुपतिमा चढाएका थिए । त्यतिबेलै जग्गा अरूको नाममा दर्ता भएकाले सबैलाई मोही कायम गरिएको थियो । यसबाहेक सरकारका साथै भक्तजनले विभिन्न समयमा चढाएका (पशुपतिको नाममा नामसारी गरिदिएका) जग्गा पशुपतिको आयस्ताको स्रोत हो । २०४६ सालमा पञ्चायतको अन्तिम सरकार (लोकेन्द्रबहादुर चन्द नेतृत्वको) ले मन्त्रिपरिषद्को अन्तिम बैठकको निर्णयबाट कोषलाई गोठाटारमा ५ सय रोपनी सार्वजनिक जग्गा दिएको थियो । त्यो जग्गाबाट वाषिर्क २ करोड आम्दानी हुन्छ ।
व्यवस्थित नबनाइँदा भेटीघाटीबाट पशुपतिको आम्दानी नगण्य थियो । त्यो सबै भट्ट र भण्डारीले बाँडीचुँडी लिन्थे, नाममात्रको रकम भण्डारमा दाखिला गरिन्थ्यो । वैद्यका अनुसार भेटीघाटीलाई ५ भाग लगाइन्थ्यो, एकभाग मूल भट्टले लिन्थे । बाँकीलाई फेरि ५ भाग लगाएर ३ भाग भट्टहरूले र २ भाग भण्डारीले लिन्थे । भेटीघाटी व्यवस्थित गर्ने नियमावली (२०६८ साल चैत २६) लागू भएपछि सबैलाई मासिक दक्षिणा (तलब) को व्यवस्था गरिएको छ ।
२०६८ मा भेटीघाटीबाट १ लाख रुपैयाँ आम्दानी भएको जनाइएको थियो । तर गत वर्षमात्र ३ करोड रुपैयाँ दाखिल भयो । मूल भट्टको तलब मासिक २ लाख १९ हजार रुपैयाँ छ । चार जना भट्टको जनही १ लाख ६९ हजार रुपैयाँ छ । भण्डारीले १ लाख रुपैयाँका दरले दक्षिणा पाउँछन् । यसबाहेक हालै भट्टहरूले आन्दोलन गरेपछि विशेष पूजाबाट कमिसन पाउने भएका छन् । विशेष पूजामा खर्च गरी बचेको रकमबाट १८ प्रतिशत बराबर रकम भट्ट/भण्डारीले कसिमन पाउने छन् । १८ प्रतिशत बराबर हुने रकमबाट मूल भट्ट, भट्ट र भण्डारीले क्रमशः ७.२, ३.६ र ०.५ प्रतिशत रकम पाउने छन् । पूर्वकोषाध्यक्ष वैद्य यसलाई कमिसन नभई दक्षिणा भन्छन् । नियमावली लागू भएदेखि उनीहरूले विशेष पूजाबापत दक्षिणा पाएका थिएनन् । 'पूजा गराएपछि पण्डितलाई धेरथोर दक्षिणा त दिनैपर्छ,' उनी भन्छन् ।
अहिलेको गतिमा विशेष पूजा हुँदा मूल भट्टले अब महिनामा करिब १० लाख रुपैयाँ थाप्ने छन् । अन्य चार जनाको भागमा जनही सात लाख रुपैयाँ पर्नेछ । दुई सन्तानलाई शैक्षिक वृत्तिको सुविधा दिइएको छ । वर्षमा दुई पटकसम्म घर आवत जावत गर्न हवाई टिकट पनि कोषले उपलब्ध गराउँछ । नियमावली लागू हुनुअघि मूल भट्टले ३ सय ६५ मुरी धान र प्रत्येक पूणिर्मामा चारमासा सुनको औंठी पाउँथे । नियमावली बनाएर आम्दानी व्यवस्थित बनाउन थालेपछि २ वर्षमै पशुपतिको खातामा १८ करोड रुपैयाँ बचत भइसकेको
छ । २०६८ मा नियमावली लागू भएपछि विशेष पूजाबाटै वाषिर्क करिब ७ करोड रुपैयाँ आम्दानी भयो । हाल पशुपतिमा पाँच किसिमका विशेष पूजा गरिन्छन् । यस्ता पूजा गराउने दैनिक २ सय हुन्छन् । २०६९ देखि अहिलेसम्म ३८ हजार जनाले यस्तो पूजा गराइसकेका छन् ।
१ हजार १ सय रुपैयाँदेखि ९ लाख रुपैयाँसम्मका विशेष पूजा हुन्छन् । ९ लाख रुपैयाँको विशेष पूजा गर्नेमा अमिताभ बच्चन र बच्चु सिंह नामका भारतीयमात्र छन् । २५ लाख रुपैयाँसम्मको विशेष पूजाको व्यवस्था गर्ने तयारी भइरहेको टन्डनले बताए । २०२२ सालदेखि विशेष पूजाको प्रचलन सुरु भएको हो । सस्तो विशेष पूजामा एक जना पण्डितले रुद्री पाठ गर्छन् । ९ लाख रुपैयाँको पूजामा १ सय ३३ पण्डितले एक महिना रुद्री पाठ गर्छन् ।
पशुपतिले गत वर्ष ३२ करोड रुपैयाँ आम्दानी गरेको थियो । सदस्य सचिव टन्डनका अनुसार सबैभन्दा बढी १५ करोड रुपैयाँ मन्दिरमा छिर्न नपाउने पर्यटकबाट संकलन भएको थियो । कोषले पशुपति क्षेत्र प्रवेशमा जनही १ हजार रुपैयाँ शुल्क लिन्छ । आत्मनिर्भर पशुपतिलाई स्वायत्तता दिनुपर्नेमा समस्या देखाएर मन्त्रालयको पकडमा लिने प्रयास हुने गरेको छ । 'हातमा घाउ आएपछि औषधि गर्नुपर्ने हो,' उनले भने, 'हातै काट्ने कुरा हुन्छ ।'
पशुपतिको मूल मन्दिरमा १ मूल भट्ट, ३ भट्ट र २ सहायकसहितको १ भण्डारीले पूजा चलाउँछन् । मूल भट्ट र भट्ट कर्नाटकको ब्राह्मण परिवारबाट ल्याउने परम्परा मल्लकालदेखि यथावत् छ । पशुपतिको चार किल्लाभित्र राजभण्डारी परिवारमा जन्मिएको, स्वजातीय विवाह गरेको मात्र भण्डारी बन्न हक लाग्छ । १ सय ३८ भण्डारी छन्, भण्डारी सूचीमा रहेकाहरू एकचोटिमा ३ जनाका दरले पालैपालो १ महिनाका लागि मन्दिरको पूजामा हुन्छन् । पशुपतिको सम्पत्ति रेखदेख गर्न ९ जना बिसेट हुन्छन् । यसमा एक जना नाइके हुन्छन् । भण्डार दाखिला गर्नुअघि गरगहना र बहुमूल्य वस्तुको रेखदेख उसको मुख्य ड्युटी हो । बिसेट हुन पनि चार किल्लाभित्रै र बिसेट परिवारमै जन्मिनुपर्छ ।
कोषको दैनिक प्रशासनमा १ सय ९२ कर्मचारी छन् । यसबाहेक पूर्णकालीन र आंशिक गरी ७० जना रैरकमी छन् । पशुपतिमा हुने जात्रालगायतका काममा तीनै रैरकमी सहभागी हुन्छन् । पशुपतिको ढोका खोल्ने, फूल पुर्याउने, बाँदर धपाउने, जात्रामा कसैले खट बोक्ने, कसैले खड्ग बोक्नेजस्ता जिम्मेवारी रैरकमीको हुन्छ । बिहान ४ बजे सुरु हुने पशुपतिको पूजा दिउँसो सवा २ बजेसम्म जारी रहन्छ । ५ देखि ७ बजेसम्म फेरि खुल्छ । मूल भट्टले सञ्चालन गर्ने गुठी १२ वटा छन् । बर्सेनि निकालिने जात्रा नै १४ वटा छन् । हरेक पूणिर्माको साँझ पशुपतिमा महाभोग (महास्नान) लगाइन्छ । ७ मुरी, ७ पाथी, ७ अञ्जुली, ७ चिम्टीको अन्न भाग लगाएर गरिने महाभोगको खर्च ८/९ लाख रुपैयाँ हुन्छ । सिन्धुपाल्चोकको फटकसिलामा ५ सय ६६ रोपनी र गोकर्णमा १ हजार ६ सय ३३ रोपनी जग्गा गुठी राखिएको छ, त्यसको आयस्ताबाट महाभोगको खर्च जुटाइन्थ्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि स्थानीयले आयस्ता दिन छाडेकाले गुठी संस्थानले खर्च बेहोर्दै आएको छ । 'पशुपति क्षेत्र झन्डै चौबीसै घन्टा र वर्षैभरि सांस्कृतिक रूपमा जीवन्त भइरहने मन्दिर हो,' टन्डन भन्छन् ।
चार धाम दर्शन गरे पनि पशुपतिनाथ दर्शन नगरे अपूरो हुने हिन्दुधर्मीमा विश्वास छ । यसैले भारतबाट ठूलो संख्यामा दर्शनार्थी आउँछन् । पशुपतिमा आस्था राख्ने भारतमा मात्र होइन मलेसिया, फिजी, मरिसस, इन्डोनेसियामा समेत थुप्रै छन् । पूर्वाधारको विकाससँगै हिन्दुधर्मी भएका ठाउँमा प्रवर्द्धन गर्नसके पशुपतिले मुलुकमा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउनसक्ने टन्डनले बताए । पूर्वकोषाध्यक्ष वैद्यले संग्रहालय निर्माण गरी पशुपतिको ढुकुटीमा रहेका बहुमूल्य जवाहरात, मणिमाणिक्य प्रदर्शन गर्नुपर्ने धारणा राखे । 'यस्ता रचनात्मक विकास गर्नसके पशुपति मुलुकमा धनावर्षा गराउने सम्पत्ति हो,' उनले थपे । कोषले वेद विद्याश्रममा प्रत्येक वर्ष ७५ जिल्लाका एक-एक जनालाई छात्रवृत्तिमा संस्कृत पढाउँछ । यसमा सवा करोड खर्च हुन्छ । अब पशुपतिले विश्वविद्यालय, अस्पताललगायतका सेवा विस्तार गर्नुपर्ने वैद्यले बताए ।
सबै धार्मिक कार्य व्यवस्थापन गर्न राणाकालमै श्री ५ गुठी बन्दोबस्त अड्डा र श्री ३ गुठी बन्दोबस्त अड्डा थिए । तिनले पशुपतिको व्यवस्थापन हेर्थे । राणाकालमै पशुपतिको पूजा व्यवस्थापन गर्न पशुपति गोस्वारा अड्डा स्थापना भएको थियो । पशुपति गोस्वाराले गरिबलाई हण्डी वितरणका साथै पूजाको अनुगमन र सरसफाइको काम हेथ्र्यो । पशुपति गुठीको जग्गाको संरक्षण र कुत असुल्न पशुपति अमालकोट कचरी अनि अरू सम्पत्तिबाट कर असुली र पूजा, जात्रा आदिका सामग्री बन्दोबस्त गर्न भण्डार तहबिल कार्यालय उही बेलादेखि छन् ।
राणा शासनसँगै दुईवटा बन्दोबस्ती अड्डा खारेज भए । २०२१ सालमा गुठी संस्थान स्थापना गरी त्यसैअन्तर्गत पशुपतिलाई राखियो । पशुपति गोस्वारा गुठीको सम्पर्क कार्यालय थियो । तर गुठी संस्थानबाट पशुपतिको समुचित व्यवस्थापन हुन नसकेको आवाज स्थानीय स्तरबाट उठेपछि २०३२ सालमा भूपालमान सिंह कार्कीको अध्यक्षतामा पशुपति क्षेत्र विकास समिति गठन भएको थियो । भट्टसँग विवाद भएपछि भूपालमान सिंहले पद छाड्न पर्यो ।
२०४३ सालमा कोष स्थापना भएपछि पशुपतिको व्यवस्थित विकास सुरु भएको हो । कोषले गुरु योजना बनाएर क्षेत्रको विकास गरिरहेको छ । यतिखेर सरकारले पशुपति क्षेत्रको विकासलाई राष्ट्रिय गौरवको आयोजनामा प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आउने आर्थिक वर्षमै यसको पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ ।
पञ्चायतमा राजा कोषको संरक्षक, रानी अध्यक्ष र सम्बद्ध मन्त्री उपाध्यक्ष हुन्थे । प्रजातन्त्रमा संरक्षक प्रधानमन्त्री, अध्यक्ष मन्त्री छन् । अस्थिर सरकारसँगै कोषको कामकारबाही प्रभावित हुने गरेको छ । पशुपति क्षेत्रमा सयौं मन्दिर भए पनि तिनमा पशुपति र जयबागेश्वरी मन्दिरमात्र कोषअन्तर्गत छन् । गुह्येश्वरीलगायतका बाँकी मन्दिर गुठी संस्थान अधीनस्थ छन् । दुई निकायले सञ्चालन गर्दा एकरूपता कायम हुन नसकेको सदस्य सचिव टन्डनले बताए
MY VIDEO BLOG FROM YOUTUBE gifu omaturi