जापानी भाषा प्रशिक्षण इन्स्टिच्युटहरू
अध्ययनका लागि जापान जाने विद्यार्थीलाई लक्षित गरेर एक दशक अघिदेखि नै राजधानीमा एजुकेसन कन्सल्टेन्सीहरू खुलेका थिए। त्यसयता यो संख्यामा गुणात्मक वृद्धि भयो। अहिले दर्जनौं कन्सल्टेन्सीले जापान जाने विद्यार्थीलाई आवश्यक सहयोग एवं भाषा प्रशिक्षण गराउँदै आएका छन्।
सन् २००१ देखि जापानी ल्याङ्वेज एजुकेसनले यस्तो सेवा सुरु गरेको प्रबन्ध निर्देशक अरुणा शाक्यको दाबी छ। सबैभन्दा पुरानो यो कन्सल्टे न्सीले भरपर्दो सेवा उपलब्ध गराउँदै आएको शाक्यले बताइन्। नयाँ बानेश्वरको जापानी ल्याङ्वेज स्कुलले २००५ मा सेवा प्रारम्भ गरेको थियो। यो स्कुलले सुलभ शुल्कमा जापानी भाषा सिकाउँदै आएको छ। यसैगरी जापान जान चाहने विद्यार्थीका लागि परामर्श दिने र प्रक्रियाका लागि सहयोग गर्ने काम समेत गर्दै आएको पि्रन्सिपल टंक साउद बताउँछन्। जापानी ल्याङ्वेज स्कुलले जापानी भाषाका लागि मासिक ७ सय शुल्क लिने गरेको छ। आधारभूत तहको भाषा प्रशिक्षण पाँच महिनामा पूरा हुन्छ। साउद भन्छन्- 'बेसिक लेभलको प्रशिक्षणबाट एन फाइभ उत्तीर्ण गर्न सकिन्छ।'
कमलादीस्थित प्लेसमेन्ट इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसले युएसए, क्यानडा, अस्ट्रेलिया, युकेलगायत जापान अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीलाई आवश्यक परामर्श दिँदै आएको छ। सात वर्षअघि स्थापित प्लेसमेन्टले जापानी भाषासम्बन्धी प्रशिक्षण पनि दिँदै आएको छ। 'जापानमा अध्ययन गर्न जानुअघि भाषा सिक्नैपर्छ,' जनरल डाइरेक्टर सविना प्रधान भन्छिन्-
'त्यसैले हामीले भाषा प्रशिक्षणमा जोड दिएका छौं।' जापानमा अध्ययन तथा बसोबासका लागि भाषा अनिवार्य सिक्नुपर्ने उनको जोड थियो। प्रधान भन्छिन्- 'फरदर स्टडी र त्यहाँ आफूलाई सर्भाइभ गर्न भाषामा राम्रो दखल हुनुपर्छ।'
२०६३ सालदेखि फास्ट ट्र्याक एजुकेसन कन्सल्टेन्सीले जापानी तथा ग्रीक भाषासहित आइएलटिएसको प्रशिक्षण गराउँदै आएको छ। बागबजारस्थित यो कन्सल्टेन्सीले जापान जान चाहने विद्यार्थीलाई परामर्श पनि दिँदै आएको प्रबन्ध निर्देशक खड्ग चाम्लिङ बताउँछन्। अस्ट्रे लिया, अमेरिका, बेलायतजस्ता मुलुकको भन्दा भिसा प्रक्रिया सहज हुने भएकाले विद्यार्थीहरू जापानप्रति लालयित भएको उनले बताए।
' पढाइमा मध्यम स्तरका विद्यार्थीहरू जापान जान्छन्,' चाम्लिङ भन्छन्-
'उनीहरूलाई त्यहाँ पढाइका साथै कमाउने अवसर पनि छ।'
जापानी भाषामा पोख्त नभई अरू प्रक्रिया अघि नबढाउन उनको सुझाव छ। 'नेपालमा राम्रोसँग ६ महिनाभन्दा बढी भाषा सिक्नुपर्छ, त्यसपछि जापानी संस्कृति तथा रहनसहनका बारेमा विस्तृत जानकारी लिनु राम्रो हुन्छ।'
विद्यार्थीहरू गलत परामर्शको सिकार बन्न सक्नेप्रति सचेत गराउँदै मानावु जापानी ल्याङवेज इन्स्टिच्युटका अध्यक्ष विशाल श्रेष्ठले 'राम्रोसँग बुझेर' मात्र जापान जानुपर्ने बताए। श्रेष्ठका अनुसार 'जेन्युयन परामर्शदाताको मात्र सहयोग लिनुपर्छ।' पाँच वर्षअघि सञ्चालनमा ल्याइएको मानावु आफ्नो फाइदाभन्दा विद्यार्थीको भविष्यप्रति बढी सतर्क हुने उनको दाबी थियो। नमस्ते एजुकेसन इन्स्टिच्युटले काठमाडौंको पुतलीसडकवाट जापान जान चाहने विद्यार्थीलाई भरपर्दो परामर्श दिँदै आएको छ। सन् २००६ सालमा खुलेको यो इन्स्टिच्युटले जापानी भाषा प्रशिक्षणदेखि लिएर अन्य आवश्यक प्रक्रियामा सघाउ पुर्याउँदै आएको छ। यसले पोखरामा पनि शाखा विस्तार गरेको छ। नेपाली विद्यार्थीहरू पढाइका साथै कमाइ गर्ने मनस्थिति बनाउने भएकाले जापान जानुअघि भाषामा पोख्त हुनुपर्नेमा इन्स्टिच्युटका प्रवन्ध निर्देशक कर्ण गुरुङले जोड दिए। नागपोखरीस्थित नेपाल जापान सेवा सेन्टरले सन् २००४ देखि जापानी भाषाको प्रशिक्षण दिँदै आएको छ। 'अन्य मुलुकमा जस्तो धेरै उतारचढाव नआउने भएकाले यो मुलक विद्यार्थीको रोजाइमा परेको छ' सेन्टरकी प्रबन्ध निर्देशक रमा कँडेलले भनिन्- 'ह्वात्तै विद्यार्थी जाने र विचल्ली पर्ने जोखिम छैन त्यहाँ।' यसैगरी पार्ट टाइम रोजगारीको अवसर प्राप्त हुने भएकाले पनि नेपाली विद्यार्थीहरू त्यसतर्फ आकषिर्त भएको उनले बताइन्। यद्यपि जापान जानुअघि भाषा प्रशिक्षण भने लिनुपर्नेमा उनको जोड छ। 'नेपाली विद्यार्थीहरूले आक्रामक हुने, आन्दोलन गर्नेजस्ता बानीचाहिँ यही छाडेर जानुपर्छ,' उनले थपिन्- 'त्यहाँ एकदमै अनुशासित भएर मात्र टिक्न सम्भव छ।' जापानमा परिश्रमी, मेहनती, अनुशासित र समयसीमामा बाँधिन सक्ने व्यक्तिले मात्र प्रगति गर्न सक्ने कँडेलको भनाइ थियो। जापानको नियमअनुसार नेपाली विद्यार्थीलाई भरपर्दो रूपमा सेवा दिन यसै वर्षदेखि सेवा प्रारम्भ गरेको छ- स्ट्यारवे माइग्रेसन-इमिग्रसन काउन्सिलिङले। मध्यबानेश्वरमा खुलेको यो संस्थाले जापानी भाषा प्रशिक्षण दिनुका साथै भरपर्दो परामर्श दिने प्रबन्ध निर्देशक रामजी थापाले वताए। पुतलीसडकस्थित नेपारु इन्स्टिच्युटले पनि दुई वर्ष यता जापान जाने विद्यार्थीलाई लक्षित गरेर भाषा प्रशिक्षण सञ्चालन गरिरहेको छ।
'जापानमा अन्य भाषा चल्दैन,' नेपारुका प्रबन्ध निर्देशक दीपेन्द्र घिमिरेले भने-
'त्यसैले सबैभन्दा पहिले भाषामा दक्षता हासिल गर्नुपर्छ।' त्यहाँ बस्न तथा पढ्न भाषा ज्ञान अनिवार्य भएको उनले बताए।
Copy from kantipur saptahik 2012-9-14
http://www.ekantipur.com/saptahik/article/?id=8378